Sunday, January 15, 2017

शीतल निवासमा बिहेको चटारो

engagement-15012017073908-1000x0

शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहका तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलाई जुराइएको छ ।


निशाकुसुमको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका भतिजा अभिषेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमै इंगेज्मेन्ट (टीकाटालो) भएको थियो ।


विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही वर्षदेखि नै चलेको थियो । अध्ययनलगायत कारणले पछि सरेको हो । समावेशीको नमुनासमेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाँधेको छ ।


‘विवाहको तयारी लगभग सकिएको छ,’ राष्ट्रपतिका जनसम्पर्क सचिव जीवछ साहले शनिबार कान्तिपुरलाई भने । सोमबार बिहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा वैवाहिक कार्यक्रम राखिएको छ ।


कोसी हलको अघिल्तिरको खाली भागमा जग्गे तयार पारिएको छ । विवाह समारोह झकिझकाउ बनाउने काम भइसकेको छ । तर, स्रोतले दिएको जानकारीअनुसार वैवाहिक कार्यक्रमलाई भने संक्षिप्त र सामान्य नै बनाइएको छ ।


राष्ट्रपति भण्डारीले दुलाहा पक्षलाई पनि बढी तामझाम नगर्न सुझाव दिएको स्रोतले जानकारी दिए । सामाजिक व्यवहार सुधार ऐनमा ५१ जनाभन्दा बढी जन्ती ल्याउन नहुने उल्लेख छ । राष्ट्रपतिका तर्फबाट पनि धेरै निम्तालु छैनन् ।


दुलाहा पक्षलाई पनि ५१ जनाभन्दा बढी जन्ती नल्याउन आग्रह गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षलाई कार्यक्रममा बोलाइएको छ । निम्तोपत्रमै कुनै नगद वा जिन्सी नल्याउन आग्रहसमेत गरिएको छ । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् ।


इन्जिनियरिङ पढेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट समेत उच्च शिक्षा लिएका छन् । निशाकुसुमले भने नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् । एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । विवाहकै पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारीले शनिबार बिहान नक्सालस्थित बालमन्दिरमा आश्रय लिएका बालबच्चालाई भोजन गराएकी थिइन् । उनीहरूलाई शीतल निवासमै बोलाइएको थियो । छोरी निशाकुसुम पनि साथै थिइन् ।


– वालकृष्ण बस्नेत, कान्तिपुर

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts