Friday, January 13, 2017

नेपाली तारा जो विश्वमा चम्किए


खाडी र मलेसियामा पसिना बगाउने मात्र होइन, विश्व विज्ञानमा सिर्जना गर्ने, समाजमा योगदान गर्ने र राजनीतिमा नेतृत्व गर्ने तहमा पुगिसकेका छन् नेपाली । नेपालीको उमंग बढाउने उनीहरूको कथा



प्रबल गुरुङ



विश्वको फेसन डिजाइनमा प्रवलको उपस्थितिले पूर्वीय एकाधिकार तोडेको छ । काठमाडौंको सेन्ट जेभियर्सबाट एसएलसी पास गरेका प्रबलले दिल्लीमा फेसन डिजाइनर अध्ययन गरेका हुन् । नेसनल काउन्सिल अफ होटेल म्यानेजमेन्ट कलेजमा पढ्न मुम्बई गएका प्रबलले पछि दिल्लीको नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा डिजाइनको कोर्स गरेका थिए । त्यसपछिको केही समय उनले दिल्लीका केही संस्थाहरूमा मनीष अरोरासँग डिजाइनमा सहकार्य गरेका थिए । सन् १९९९ मा न्युयोर्कको बाटो तय गरेपछि उनको जीवन नै परिवर्तन भयो । विभिन्न संस्थामा इन्टर्नसिप गर्दै र विभिन्न व्यक्तिसँग सहकार्य गर्दै उनले सन् २००९ मा न्युयोर्कमा एकल फेसन विक र २०१० मा पहिलोपटक रनवे सो समेत गरे ।



सन् २०११ देखि प्रबलले शिक्षा फाउन्डेसन नेपाल नामक संस्था सञ्चालनमा ल्याएका थिए । विश्व फेसनको प्रतिष्ठित संस्था फेसन ग्रुप इन्टरनेसनलले प्रबललाई नाइट्स अफ स्टार्स सम्मान दिएको छ । उनलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले पनि सम्मान गरेको थियो । उनका अधिकांश डिजाइनमा नेपाली संस्कृतिको समेत सम्मिश्रण छ ।



सञ्जिता प्रधान



अमेरिकी राष्ट्रपति बाराक ओबामाले २०१५ मेमा सञ्जिता प्रधानलाई आफ्नो एसियन, अमेरिकन तथा प्यासिफिक आइल्यान्डरसम्बन्धी सल्लाहकारमा नियुक्त गरे । प्रधान पति र छोरासहित सन् २००६ मा अमेरिका गएकी थिइन् । संखुवासभाको चैनपुरमा जन्मिएकी सञ्जिताले धरान विजयपुर बोर्डिङ स्कुलबाट एसएलसी पास गरेकी थिइन् । कृषि क्याम्पस रामपुर चितवनबाट बिएस्सी–एजी सकेपछि उनले भारतबाट एमबिए सकाइन् । त्यसपछि जिटिजेडमा काम गरिन् । अमेरिका पुगेपछि प्रधान बैंकमा कस्टुमर सेल्स रेप्रेजिन्टेटिभ र फाइनान्सियल फर्म मार्केटिङको जागिर छाडेर  रिफ्युजी सर्भिस अर्गनाइजेसनमा स्वयंसेवकका रूपमा समेत काम गरेकी थिइन् ।



लुजेन्द्र ओझा



सन् १९९० मा काठमाडौंमा जन्मिएका ओझाले लैनचौरको योघारी हाइयर सेकेन्डरी स्कुलमा चार कक्षासम्म अध्ययन गरेका थिए । उनले ज्ञानेश्वर पब्लिक स्कुलमा पनि अध्ययन गरेका थिए । सन् २००५ देखि अमेरिका बस्दै आएका उनको पुख्र्यौली घर भने डोटीको महादेवस्थान हो । लुजेन्द्रका बुबा टंक ओझासमेत वैज्ञानिक हुन् । एरिजोनाबाट विद्यावारिधि गरेसँगै टंकलाई वैज्ञानिकका रूपमा अनुबन्धित गरेको थियो । लुजेन्द्रले पनि एरिजोनाबाटै प्लानोटरी साइन्स र जियो फिजिक्सबाट ब्याचलर गरेका थिए । सन् २००७ देखि २०११ सम्म एरिजोनामा पढेपछि उनले जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट प्लानोटरी साइन्स र भोन्कानोलोजीबाट विद्यावारिधि गरे । सन् २०१६ देखि उनी जोन्स हकिङ विश्वविद्यालयमा ब्लास्टेन पोस्ट डक्टरल फेलो हुन् ।



डा. कुमुद धिताल



संसारमा पहिलो पटक मृतकको मुटु झिकेर प्रत्यारोपणको शल्यक्रिया डा. कुमुद धितालले गरे । अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. धितालले सन् २०१४ मा तीन मुटु तीनजना बिरामीमा प्रत्यारोपण गरे । त्यसपछि उनले विश्वभर चर्चा मात्र कमाएनन् नेपालीको शिरसमेत उचो बनाए । सिड्नीकै ५७ वर्षीया मिसेल ग्रिबिलास र ४० वर्षीय जेन डामेनमा उनले मुटुको सफल प्रत्यारोपण गरेका थिए ।



आधा घन्टा पहिले चल्न बन्द भएको मुटुलाई पुनः परिचालित र प्रत्यारोपण गर्न सेन्ट भिन्सेन्ट अस्पताल र ‘भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्युट’का अनुसन्धाताले सघाएका थिए । त्यसअघि ब्रेन डेथ भएकाहरूको मुटु मात्र प्रत्यारोपण हुँदै आएको थियो । गोर्खा खरिबोटका विष्णुप्रसाद र लक्ष्मी धितालका पुत्र कुमुदको जन्म इटालीमा भएको हो । विष्णुप्रसाद राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रममा जागिरेका रूपमा इटली गएका वेला कुमुद जन्मिएका हुन् । विष्णुप्रसाद वि.सं. २००१ को एसएलसी बोर्डटपर हुन् ।



नेपालको सेन्ट जेभियर्समा सात वर्ष पढेका कुमुदले इटालीपछि बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा मेडिकल साइन्स पढे । उनले सन् २००० मा लन्डन विश्वविद्यालयबाट मस्तिष्क नसाको उपचार विषयमा पिएचडी गरेका थिए । क्याम्ब्रिज विश्वविद्यालयबाट मुटुको शल्यक्रियासम्बन्धी ट्रान्सप्लान्ट फेलोसिप (एफआरसिएस) गरेका उनले अमेरिका र लन्डनमा पनि काम गरेका थिए । अहिले उनी अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट्स अस्पतालमा कार्डियोथोरासिक सर्जन छन् । कुमुद युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसिएट प्रोफेसर र भिक्टर च्याङ कार्डियाक रिसर्च इन्स्टिच्युटका फ्याकल्टी मेम्बरसमेत हुन् ।



अनिश गिरी



नेपाली बुबा सञ्जय गिरी र रसियन आमा ओल्गाबाट २८ जुन १९९४ मा रसियामा जन्मिएका अनिश गिरीले पटक–पटक विश्व चेस च्याम्पियन उपाधि जितेका छन् । उनले १४ वर्षकै उमेरमा ‘ग्रान्ड मास्टर’को उपाधि पाएका थिए । अनिश बाबुआमासँगै सन् २००२ मा जापानको सापोरामा गए र २००८ सम्म बसे ।



रसियामा छँदा नै उनी १४ वर्षमुनिको रसियन हाइयर लिगमा च्याम्पियन भएका थिए । त्यसपछि उनको परिवार नेदरल्यान्डमा बस्न थाल्यो । वल्र्ड चेस च्याम्पियन २०१० मा चौथो भएका गिरी २०१३ को वल्र्ड चेस च्याम्पियनसिपमा पहिलो भए । अनिश सन् २०१२, २०१४ र २०१६ को ओलम्पियाडमा लगातार पहिलो भएका हुन् । उनी सन् २०१२ को वल्र्ड सिटिज च्याम्पियनसिपमा र सन् २०१३ को युरोपियन च्याम्पियनसिपमा पनि पहिलो नै भए ।



(विश्वास खड्काथोकीले आजको नयाँ पत्रिकामा लेखेका छन्)



Published on January 13, 2017 at 8:40 pm




Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts