Wednesday, January 11, 2017

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

चरिकोट,पुस २७ – सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो । दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ । दोलखा लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छन् । दोलखाको एक मात्र बहिरा पढ्ने विद्यालय भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा कक्षा २ सम्मको मात्र पढाइ हुने गरेको छ । बहिरालाई लक्ष्य गरेर सञ्चालन गरेको यो विद्यालयमा ३५ जना विद्यार्थी छन् । यहाँ १६ देखि २४ वर्षसम्म उमेर भएका विद्यार्थी पढ्न आउँछन् ।



तर यहाँ उमेर समूहका आधारमा र कक्षा चढेका आधारमा विद्यालय नहुँदा दोलखाका थुप्रै बहिरा शिक्षा लिनबाट वञ्चित छन् । यही उदारहण हो लक्ष्मी श्रेष्ठको पनि । उनी भूकम्प जानुभन्दा पहिले सिन्धुपाल्चोक बाह्रबिसेमा रहेको सिन्धु बहिरा निमाविमा पढ्थिन् ।



भूकम्पको त्रासले सिन्धु बहिरा विद्यालयसँगको समबन्ध छुटायो उनलाई । त्यही भूकम्पले गर्दा उनी आफ्नो घर लाकुरीडाँडा आइन् । लाकुरीडाँडामा आमाबुबासँग बसे पनि उनलाई विद्यालय पढ्नु पर्छ भन्ने कुराले पिरोलिरहेको र आमाबुबाले आफ्नो साङ्केतिक भाषा नबुझेकै कारण आफू घर छोडेर २ कक्षामा पढ्न आएको लक्ष्मी बताउँछिन् ।



आफ्नो बाआमाको आर्थिक अवस्था कमजोर भएका कारण पनि आफ्नै जिल्लाको स्कुलमा पढ्न बाध्य भएको उनको भनाइ रहेको छ । उनी भन्छिन् – “मलाई रहर छैन २ कक्षामा पढ्न, फेरि जाने ठाउँ पनि कहीँ छैन । आमाबुबासँग बसेर समय काट्नुभन्दा बहिरासँगै केही सिकौँ भनेर मू कक्षा २ मा अध्ययन गरिरहेको छु ।”



“मलाई धेरै दुःख पनि लाग्छ, लाज पनि लाग्छ, किनकी मैले ८ कक्षामा पढ्दा धेरै जानेको थिएँ, अहिले २ मा पढेको कुरा मैले फेरि पढिरहेको छु,” उनी दुखेसो गर्दै भन्छिन्, “मानिस अगाडि बढ्छन् तर मेरो जिन्दगी पछाडि फर्किएको छ । मैले दुई वर्ष मात्रै पढ्ने अवसर पाएको भए यति बेला एसएलसी पास गर्ने थिएँ होला । पढ्ने अवसर गुम्दा जिन्दगीमा थुप्रै अवसर गुम्यो ।”



उस्तै पीडा बोकेर दुःखका स्वर सुनाइरहेका छन्, यस बहिरा विद्यालयमा पढ्ने विद्यार्थीले । यहाँ आमाबुबा गुमाएका, आमा वा बुबा गुमाएका, कान नसुन्ने, बोली बोल्न नसक्नेहरु पढिरहेका छन् । एउटै कक्षा कोठामा तीन वटा कक्षा भनेर पढाइ भइरहेको छ । दुईतिर फर्केर कक्षा सञ्चालन भइरहेको छ यहाँ । पछाडि एक कक्षा चलिरहेको भने अगाडि दुई कक्षा सञ्चालन भइरहेका छन् । बाल कक्षा बाहिर चौरमा पढाउने गरेको प्रधानाध्यापक विद्या कार्की बताउँछिन् । अहिले यस विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माणपछि बहिराको जीवनमा खुसी आउने प्रधानाध्यापक कार्की बताउँछिन् । भवन मात्रै त बहिराको सबथोक होइन गुणस्तरीय शिक्षा पनि बहिराका लागि आवश्यक हुन्छ ।



विषयगत शिक्षक यहाँ भइदिए बहिरालाई सजिलो हुने प्रधानाध्यापक कार्कीको भनाइ छ । उनी भन्छिन् – “यहाँ दुई कक्षा मात्र छ तर धेरै कक्षा पढेका विद्यार्थी पढ्न आउँछन् । यस विद्यालय निमावि तहसम्म भइदिए केही सजिलो हुन्थ्यो । विद्यार्थीको तह छुट्याउन गाह्रो भयो ।”



यो विद्यालय आर्थिक हिसाबले पनि ज्यादै कमजोर छ । प्रधानाध्यापक बहिरा नै छिन् । यसले विद्यार्थीलाई सहयोग त पु¥याएको छ तर शिक्षा कार्यालयले बाल शिक्षाको कोटामा पठाएको शिक्षिका बहिरा वा साङ्केतिक भाषा जानेको नहुँदा ज्यादै अप्ठेरो परेको प्रअ कार्कीको भनाइ छ । उनी थप्छिन् – “नसुन्ने र सुन्ने विद्यार्थी अर्थात् साङ्केतिक पढ्ने अन्य विद्यार्थी भइदिए नसुन्नेलाई ऊर्जा पैदा हुने थियो र यो व्यवस्थाका लागि मैले सम्बन्धित निकायसँग आग्रह गरिरहेको छु, कसैले सुनेन ।”बहिरालाई दया गर्ने मात्र हैन अवसर दिनु पनि आवश्यक रहेको प्रअ कार्कीको भनाइ रहेको छ ।



सुन्ने विद्यालयमा नसुन्नेले पढेपछि समस्या
उन्नाइस वर्षीय सुवास मगर बैतेश्वर मावि नाम्दुमा कक्षा १० मा सुन्ने विद्यालयमा पढ्थे । आफूले केही नजाने पनि विद्यालयले उसै कक्षा चढाइदिएकाले अहिले बहिरा विद्यालयमा केही नआउँदा वा नजान्दा आफूलाई लाज हुने गरेको बताउँछन् ।



त्यस्तै, ज्ञानु तामाङ पनि कक्षा ७ मा सुन्ने विद्यालयमा नै अध्ययन गरेकी हुन् । उनी पनि आफूले अक्षर चिन्न बहिरा विद्यालयमा आएर थालेपछि कक्षा कतिमा पढ्ने भन्ने थाहा भएको बताउँछन् ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts