Sunday, January 8, 2017

श्रीमतीहरु गिट्टी कुटेर कमाउँछन्, श्रीमानहरु जाँड र तासमा उडाउँछन्



अछाम, पुस २४— सुदूर पहाडी जिल्ला डोटीका केही गाविसका महिलाले रातदिन दुःख गरी कमाएको रकम पुरुषहरूले मदिरा र तास जुवामा उडाउने गरेको पाइएको छ । आफूले दुःख गरी कमाएको रकममा पनि महिलाहरूको कुनै हक लाग्दैन । सो रकम उनीहरूले सिधै घरका पुरुष सदस्यलाई बुझाउनुपर्छ । अझ अचम्म त यो छ कि, त्यहाँका अधिकांश पुरुष महिलाहरूको कमाइमा आश्रित छन् । महिलाहरू रात दिन काममा घोटिँदा पुरुषहरू भने महिलाले नै कमाएको रकम मदिरापान र जुवातास खेलेर सिध्याउँछन् ।
दीपायलस्थित कुलपाते–गोपघाट सडकखण्डको सेती किनारमा २६ जना महिला नौ वर्षदेखि निरन्तर गिट्टीको व्यापार गर्दै आएका छन् । तर, अधिकांश महिलाले आफूले कमाएको रकम आफूखुसी खर्च गर्न सक्दैनन् ।उनीहरूको कमाइ पुरुषहरूले मदिरा पिएर र तास खेलेर सिध्याउँछन् । ‘लोग्ने मान्छे कामै गर्दैनन्,’ बनलेख–८ की नारुदेवी कोलीले भनिन्, ‘उल्टै पैसा माग्छन् । दिएजति सबै रकम रक्सी र तासमा उडाउँछन् ।’



दीपायल पार गर्नेबित्तिकै गोपघाटदेखि बानडुग्रिसैन सडकछेउमा भेटिने अधिकांश महिलाको पीडा उस्तै छ । ‘ससुरा, श्रीमान् र छोराहरूको व्यवहार एउटै हुन्छ,’ बारपाटा गाविसकी थिउरी कामीले भनिन्,’ उनीहरू हाम्रै कमाइमा मस्ती गर्छन् । काम गर्ने त छोरी, बुहारी र हामीहरू मात्रैै हौं ।’



बनलेख, बारपाटा र लाटामाडौंलगायत केही गाविसका महिलाको मुख्य आयस्रोत भनेकै गिट्टी बेचेबापत आउने रकम हो । उनीहरू कुनै महिना त २० हजार रुपैयाँभन्दा बढी नगद आम्दानी गर्छन् । तर, त्यो सबै रकम सदुपयोग गर्न नसक्दा भने गरिबी र अभाव घट्न नसकेको लाटामाडौं–१ की जलुदेवी लुहारले बताइन् । ‘गिट्टी बेचे जति सबै पैसा श्रीमान्लाई बुझाउनुपर्छ,’ उनले भनिन्, ‘त्यसमा हाम्रो कुनै अधिकार हुँदैन । हिसाबकिताब राख्ने त पुरुषहरू नै हुन् ।’



महिलाहरूको त्यही आम्दानीले पुरुषहरू दिनभर चौतारो र चिया पसलमा बसेर गफ चुट्दै तास फिट्ने र साँझ परेपछि भट्टी छिर्ने काम गर्छन् । तर, महिलाहरू भने के सुत्केरी, के गर्भवती, के बिरामी सबै अवस्थामा काममै जोतिइरहेका भेटिन्छन् ।



अत्यधिक कार्यबोझ, सानैमा विवाह हुनु, उमेर नपुग्दै आमा बन्नु, आराम र उचित आहार नपाउनुजस्ता कारणले त्यहाँका महिलाहरू वास्तविक उमेरभन्दा छिट्टै बुढी देखिने गरेको स्थानीय स्वास्थ्यकर्मी करुणा थापाले बताइन् ।‘महिलाहरू पशुवत् जीवन जिउन विवश छन्,’ उनले भनिन्, ‘यो टिठलाग्दो र अमानवीय व्यवहार अन्त्य गरिनुपर्छ । नत्र गाउँका महिला जहाँको तही रहनेछन् ।’



बनलेख–७ की मैनादेवी धामी भने अपवाद बनेकी छन् । उनका श्रीमान् भने अरूका जस्तै जुवातास खेल्न जाँदैनन् । श्रीमान्ले घरव्यवहार धानेकाले काम गर्न उनलाई सहज बनेको छ । उनी छाक टार्नकै लागि दिनभर गिट्टी कुट्छिन् । दाल, चामल, नुन, तेल, कपडा र छोराछोरीको पढाइ खर्च सबै त्यही कमाइबाटै चलेको छ ।‘गिट्टी बेचेर अभाव हटेको त छँदै छ, श्रीमान्ले घरव्यवहार सम्हालेपछि अन्य कामको कुनै चिन्ता छैन,’ उनले भनिन् आजको राजधानीमा समाचार छ ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts