Thursday, January 12, 2017

‘घडी काण्ड’सभासद खतिवडालाई बदनाम गराउने नियोजित षणयन्त्र भन्दै ओखलढुंगाका अमेरिकाबासी आक्रोशित



संविधान सभाका सदस्य माननीय रामहरी खतिवडाको नाम घडी काण्डमा जोडिएको घटना अझै सेलाएको छैन । स्वयम् खतिवडा र घडी धनी प्रवल गुरुङले समेत यस बारे आ-आफ्ना तर्फबाट सार्वजनिक जानकारी गराई सकेपछि पनि घडी चोरेको विषयमा सभासद खतिवडाको नाम जोडेर चर्चा गर्ने क्रम जारी नै छ ।



यो प्रकरण नितान्त व्यक्तिगत चरित्र हत्या गर्ने नियतले सभासद खतिवडालाई बदनाम गराउन नियोजित रुपमा आएको भन्दै अमेरिकामा रहेका खतिवडाका शुभेच्छुकहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।



उनीहरुले भनेका छन्, ‘हामी दावीका साथ भन्न सक्छौं सभासद खतिवडा एउटा घडी चोर्नुपर्ने हैसियतको व्यक्ति होइन । निरन्तर देश र जनताको सेवामा लागिरहने एक निष्ठाबान युवा नेताले घडी चोरेको भन्ने कथित र घृणित काम गर्न सक्दैन ।]


अमेरिकामा विभिन्न क्षेत्रमा रहेका सभासद विधायकका शुभेच्छुकहरुले खतिवडाको पक्षमा जारी गरेको विज्ञप्ति यस्तो छ:



मिति: जनवरी १२, २०१७



ओखलढुंगाबाट निर्वाचित माननीय एवं नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाका बारे सामाजिक संजाल र विभिन्न अनलाईनमा प्रकाशित भै रहेका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।



माननीय खतिवडालाई हामी लामो समयदेखि निकै नजिकबाट चिन्छौं र उनको निजी एवं पारिवारिक जीवनका बारे पनि हामी राम्रोसँग परिचित छौं । निरन्तर देश र जनताको सेवामा लागिरहने एक निष्ठाबान युवा नेताले घडी चोरेको भन्ने कथित र घृणित काम गर्न सक्दैन । हामी सार्वजनिक रुपमा नै दावीका साथ भन्न सक्छौं माननीय खतिवडा एउटा घडी चोर्नुपर्ने हैसियतको व्यक्ति होइन । यस बारे माननीय स्वयमले समेत पत्रकार सम्मेलन गरी प्रष्ट पारिसक्नु नै भएको छ । साथै घडी धनी प्रवल गुरुङले समेत यस बारे विज्ञप्ति जारी गरेर प्रष्ट पारिसक्नु भएको छ ।



युवा सभासद मध्ये व्यवस्थापिका संसदमा निरन्तर क्रियाशील र जिल्लाको विकास एवं सम्मानजनक प्रतिनिधित्वका लागि गर्व गर्न लायक हैसियत बनाईसकेका माननीय खतिवडाको बढ्दो लोकप्रियतालाई बदनाम गराउने र निजको चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा यस्तो अफवाह फैलाइएको हुनसक्ने हाम्रो निष्कर्ष छ । हरेक व्यक्तिको स्वाभिमान हुन्छ । प्रत्येक घटनाको न्यायोचित छानबिन गरी त्यसको प्रमाणको आधारमा कसैलाई दोषी ठहर गर्ने प्रक्रिया हुन्छ । हामी जसले यो हर्कत गरेको हो त्यसको सत्य,तथ्य बुझी दोषीलाई कारवाही हुनुपर्छ भन्ने माग गर्दछौं । तर विना प्रमाण कोही कसैलाई पनि बदनाम गराउने नियतले यस्तो अफवाह नफैलाउनु हुन सबैलाई अनुरोध गर्दछौं । साथै माननीय रामहरी खतिवडाको सार्वजनिक व्यक्तित्वमा आँच पुग्ने गरी भएको प्रचारवाजीको हामी भर्त्सना गर्दछौं 



हामी माननीय खतिवडालाई यस्ता अफवाहका कारण कति पनि हतोत्साहित र विचलित नभई देश र जनताका निम्ति निरन्तर क्रियाशील भैरहन अनुरोध समेत गर्दछौं ।



गृह जिल्ला ओखलढुंगा भै हाल अमेरिकामा रहंदै आएका खतिवडाका समर्थक तथा शुभचिन्तक तर्फबाट
१. राजा घले, पर्यटन दूत एवं समाजसेवी (हाल: एटलान्टा,जर्जिया)



२. अशोक गुरुङ, पूर्व महासचिव, रुम्जाटार गुरुङ सेवा समिति एवं पूर्व सभापति, नेपाली जनसम्पर्क समिति,सियाटल (हाल: न्यूयोर्क,अमेरिका)



३. आङ्गकामी शेर्पा,संस्थापक अध्यक्ष, प्रवासी नेपाली एकता समाज अमेरिका (हाल: न्यूयोर्क,अमेरिका)



४. गम्बु शेर्पा, गायक एवं पूर्व अध्यक्ष नेपाल अमेरिका कलाकार संघ (हाल: न्यूयोर्क,अमेरिका)



५. यादव दाहाल, पूर्व महासचिव, राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ,नेपाल (हाल: क्यालिफोर्निया,अमेरिका)



६. दिनेश पोखरेल, पूर्व वरिष्ठ उपाध्यक्ष, नेप्लिज एशोसियसन अफ नर्दर्न क्यालिफोर्निया,अमेरिका (हाल: सन् फ्रान्सिस्को,अमेरिका)



७. हरिप्रिया ढुंगेल, सचिव,नेपाली जनसम्पर्क समिति,अमेरिका म्यासाचुसेट्स च्याप्टर (हाल:बोष्टन,अमेरिका)



८. गौतम दाहाल, पूर्व अध्यक्ष,नेपाल अमेरिका पत्रकार संघ एवं केन्द्रीय सदस्य,नेपाली जनसम्पर्क समिति,अमेरिका (हाल: बाल्टिमोर,अमेरिका)



घडी धनी प्रवल गुरुङले जारी गरेको प्रेश बिज्ञप्ती 



प्रेस विज्ञप्ति
मितिः २०७३/०९/२८



२०७३ साल पुस २० गते काठमाण्डौको लाजिम्पाटस्थित होटल र्‍याडिशनको हेल्थ क्लबबाट हराएको मेरो घडीका बारेमा विभिन्न अफवाह फैलिएपछि केही भन्नैपर्ने आवश्यकता महसुस गरेर यो विज्ञप्ति जारी गरेको छु ।



मेरो बुबा छत्रमानसिंह गुरुङलाई २०६६ माघ २७ गते सम्धी भेटका क्रममा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट उक्त घडी प्रधानसेनापति निवास शशीभवनमा दिनुभएको थियो । त्यसयता उक्त रोलेक्स घडी मैले लगाउँदै आएको थिएँ । घडी हराएको सम्बन्धमा जानकारी गराई म कामको सिलसिलामा भोलिपल्टै भारतको मुम्बई गएँ । नेपाल फर्केर आउँदासम्म घडी हराएको प्रसंगमा विभिन्न सञ्चार माध्यमहरुमा अफवाह फैलिएको पाएँ ।



त्यसदिन क्लबको चेन्जिङ रुममा नेपाली काँग्रेसका ओखलढुंगा-२ का सांसद तथा युवा नेता माननीय रामहरि खतिवडाज्यूले राखेको ट्रयाकसुटको गोजीमा पर्न गएको मेरो घडीबारे जानकारी प्राप्त हुनासाथ उहाँले मेरा मित्र सिमान्त गुरुङलाई एसएमएस र टेलिफोनमार्फत खबर गर्नुभएको रहेछ । उक्त विषयमा सिमान्तले मलाई बम्बइमै रहेका बेला फोनबाट अवगत गराइसकेका थिए । तर, हालै घडी हराएको प्रसंगमा माननीय रामहरि खतिवडाज्यूको नाम जोडिएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसबाट पर्न गएको भ्रम कसैमा नरहोस् । साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सबैमा सादर अनुरोध गर्दछु ।



प्रबलमानसिंह गुरुङ
काठमाडौं



Published on January 12, 2017 at 10:06 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts